नेपाल न्युज प्वाइन्ट डटकम
विद्यार्थी संगठनका संरचना हटाउन आंगिक क्याम्पसलाई त्रिविको पत्र

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय परिसरभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचनाहरू हटाउने प्रक्रिया अगाडि बढाएको छ । विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आंगिक क्याम्पसहरूलाई पत्राचार गर्दै ९० दिनभित्र यस्ता संरचनाहरू हटाउन निर्देशन दिएको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगको पत्रलाई उद्धृत गर्दै निर्देशनालयले शिक्षा क्षेत्रमा हुने दलीय हस्तक्षेप अन्त्य गर्न र खस्कँदो शैक्षिक गुणस्तर सुधार गर्न यो कदम चालिएको जनाएको छ । दलीय संगठनहरूले विद्यार्थीका वास्तविक आवाज समेट्न नसकेको र शैक्षिक वातावरणमा नकारात्मक असर पारेको ठहर गरिएको पत्रमा उल्लेख गरिएको छ ।

निर्देशनालयले जारी गरेको पत्रअनुसार अबको ९० दिनभित्र विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका सबै संरचनाहरू हटाइसक्नुपर्नेछ । त्यसैगरी, दलीय संयन्त्रको विकल्पमा विद्यार्थीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न ९० दिनभित्रै 'स्टुडेन्ट काउन्सिल' नामक नयाँ संयन्त्र विकास गरिने पत्रमा उल्लेख छ ।

विश्वविद्यालयले यस कार्यलाई यथाशीघ्र कार्यान्वयन गरी सोको जानकारी निर्देशनालयलाई गराउन सबै विभागहरूलाई निर्देशनसमेत दिएको छ ।

734171560_1701895421055366_2854218849222440458_n-1782739214.jpg
 

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update