काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी र देशभक्तहरु एकताबद्ध हुन ढिला गर्न नहुने टिप्पणी गरेका छन् ।
जननेता मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले देशको राजनीतिक घटनाक्रम गत भदौ २४ गतेपछि प्रतिक्रियावादी दिशामा अघि बढिरहेको भन्दै यसका विरुद्ध वामपन्थी र देशभक्तहरु एकताबद्ध हुन ढिला गरे गम्भीर गल्ती हुने बताए ।
उनले राष्ट्रिय स्वाधिनता निकै ठुलो संवेदनशीलता र संकटमा परेको भन्दै निर्वाचन पनि त्यही प्रक्रियाको एउटा कडीको रूपमा प्रस्तुत भएको बताए । उनले सरकारले संविधानका आधारभूत मूल्य मान्यतामाथि प्रहार गर्दै पीडित वर्ग, मजदुर, किसान र उत्पीडित समुदायमाथि अन्याय गरिरहेको आरोप पनि लगाए ।
उनले आफूले कम्युनिष्ट एकताका लागि हतारो नगरेको भन्दै दलहरुभित्र समिक्षा गरेर मात्र एकताको प्रक्रियामा जानुपर्ने बताए ।


