नेपाल न्युज प्वाइन्ट डटकम
सरकारको रवैया शंकास्पद छ : माधव नेपाल

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद रहेको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । सहसंयोजक नेपालले विदेशी शक्तिहरूले चलखेल गर्न खोजिरहेको उल्लेख गर्दै त्यसप्रति शतर्क भएर अघि बढ्ने काम पनि नेपालका कम्युनिष्ट पार्टीहरूले नै गर्नुपर्ने आवश्यकता औंल्याए ।

विदेशीहरूले देशमा हालीमुहाली नचलाउन, राष्ट्रिय हितमा कुठाराघात नगरुन् र छिमेकीहरूका विरुद्धमा गतिविधिको केन्द्र नेपाललाई नबनाउन भन्ने कुरामा नेपालमा कम्युनिष्ट पार्टीहरूले शतर्कता अपनाएर अघि बढनुपर्ने उनको भनाइ थियो । सहसंयोजक नेपालले जनताको अधिकार कुठाराघात गर्ने कोसिसहरू भइरहेको पनि बताए ।

सहसंयोजक नेपालले लोकतन्त्रको रक्षा र गर्न गणतन्त्र जोगाउन पनि नेपालमा कम्युनिष्ट पार्टीहरूले अग्रसरता दिनुपर्ने अवस्था आएको बताए ।

प्रकाशित मिति: आइतबार, असार १४, २०८३  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update