नेपाल न्युज प्वाइन्ट डटकम
वामपन्थी एकता गर्नुको विकल्प छैन : झलनाथ खनाल

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले विगतका कमजोरी नदोहोरिनेगरी वामपन्थी एकता गर्नुको विकल्प नभएको बताएका छन् ।

जननेता मदन भण्डारीको हिरक जन्मोत्सवको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको विचार गोष्ठिमा बोल्दै उनले एउटा देशमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने उल्लेख गर्दै भने, ‘देशको अस्तित्व रक्षा, गणतन्त्र र संविधानमाथिको खतरा हटाउन वामपन्थीहरुले हात मिलाउनुको विकल्प छैन । हात मात्र होइन, मन र विचार दृष्टिकोण पनि मिलाऔं । हामीबीच भिन्नता छन् । बहस गरौं र मैत्रीपूर्ण ढंगले मिलाऔ । तत्कालै कार्यगत एकता गरेर अघि बढौं ।’ 

आठ वर्षअघि २०७४ सालमा झण्डै दुईतिहाइ बहुमत जित्दासमेत जोगाउन नसकेको खनालले स्मरण गरे । ‘हाम्रो कहिले सिङ उम्रियो, कहिले जुरो पलायो । अहिले समयले हिर्काउन थालेको छ, परिस्थितिले हामीलाई मिल्नुपर्ने ठाउँमा ल्याएको छ,’ उनले भने । 

गत निर्वाचनमै एमाले र नेपाली कम्युनिष्ट पार्टी मिलेको भए सय सिट जित्ने दाबी गर्दै पूर्वप्रधानमन्त्री खनालले अब ढिलो नगरी एकताबद्ध कम्युनिष्ट पार्टी बनाउनुपर्ने बताए । ‘थाप्लोमा हिउँ राखेर ठन्डा दिमागले सोचेर एकठाउँ उभिनै पर्छ,’ उनले भने । 

प्रकाशित मिति: आइतबार, असार १४, २०८३  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update