काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले २०८० साल कात्तिकमा गएको भूकम्पका कारण प्रभावित जाजरकोट र रुकुमपश्चिमको ग्रामीण बस्तीहरुमा हालसम्म सुरक्षित आवास निर्माण हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराए । उनले तत्काल आवास निर्मााण प्राक्रियालाई गति दिन माग गरे ।
यस्तै, सांसद घनश्याम रिजालले इन्धनको मूल्यवृद्धिका कारण विकास निर्माण प्रभावित भएकाले तत्काल मूल्य समायोजन गरी सहज वातावरण बनाउन माग गरे ।
सांसद पदमबहादुर परियारले न्यून दृष्टियुक्त व्यक्तिको माग सम्बोधन गरी पुनर्स्थापनाको कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए । सांसद विष्णुदेवी पुडासैनीले आम नागरिक प्रभावित हुने गरी शिक्षा र स्वास्थ्यमा कर लगाउन नहुने धारणा राखिन् ।
सांसद रेणु चन्दले सुकुम्वासी समुदायको उचित प्रबन्ध गर्न र मानव अधिकारको सम्मान गर्न आग्रह गरिन् । सांसद विष्णुकुमारी सापकोटाले होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई बाहिर पठाउने सरकारको कार्य गलत भएको टिप्पणी गरिन् ।
सांसद विष्णुबहादुर विश्वकर्माले सुकुम्वासी समुदायको उचित प्रबन्ध गर्न र उनीहरुलाई संवैधानिक हक अनुसार बसोबासको प्रबन्ध गर्न माग गरे । सांसद श्रीकृष्ण अधिकारीले सुकुम्वासीलाई आफ्नो बस्तीबाट हटाएर होल्डिङ सेन्टरमा राखिसकेपछि उचित प्रबन्ध बिना तत्काल अन्यत्र जाउ भन्ने सरकारको शैली राम्रो नभएको तर्क गरे । सांसद सावित्री मल्लले पनि सुकुम्वासीलाई मानवोचित व्यवहार गर्न र उनीहरुको मानवअधिकारको सम्बोधन गर्न माग गरिन् ।


