काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचन आज हुँदैछ । सभापति र खुलातर्फका उपसभापति निर्विरोध चयन भइसकेपछि बाँकी पदका लागि प्रतिनिधिहरूले मतदान गर्ने भएका छन् ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीअनुसार महिला उपसभापति पदमा सांसद सोबिता गौतम र तोसिमा कार्की बीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको हो । दुवै नेतृ पार्टीभित्र लोकप्रिय अनुहारका रूपमा चिनिन्छन् । केन्द्रीय सदस्य निर्वाचनमा सोबिताले २ हजार ६४१ मत प्राप्त गर्दै स्वर्णिम वाग्लेपछि दोस्रो सर्वाधिक मत ल्याएकी थिइन् भने तोसिमाले २ हजार ३०२ मत प्राप्त गरेकी थिइन् ।
रास्वपाको संशोधित विधानअनुसार पार्टीमा १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । तीमध्ये सभापतिसहित सात पद निर्वाचनबाट चयन हुने प्रावधान रहेको छ । यसअघि सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने खुलातर्फको उपसभापतिमा स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भएका छन् । उक्त पदमा उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध भएका हुन् ।
यससँगै आज महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री गरी पाँच पदका लागि मतदान हुन लागेको हो ।
महाधिवेशनमा सबैभन्दा बढी प्रतिस्पर्धा महामन्त्री पदमा देखिएको छ । प्रारम्भिक उम्मेदवारीमा १० जनाको नाम रहे पनि कबिन्द्र बुर्लाकोटी र जगदीश खरेलले उम्मेदवारी फिर्ता लिएपछि अब आठ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
महामन्त्री पदका उम्मेदवारमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य रहेका छन् ।
त्यसैगरी, दुई खुला सहमहामन्त्री पदका लागि ११ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । उम्मेदवारमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असीम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेश पन्त रहेका छन् ।
महिला सहमहामन्त्रीको एक पदका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।


