नेपाल न्युज प्वाइन्ट डटकम
राहदानी प्रकरण : महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो

काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का प्रकरणमा जोडिएका जर्मन कम्पनीका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मनिन्द्र राज मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल,सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहितलाई विपक्षी बनाइएको उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रूपैयाँ बिगो दाबी रहेको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानीने जानकारी दिइन् । उनका अनुसार अख्तियारले १० जना कर्मचारी, २ कम्पनी, ४ विदेशी नागरिक र २ जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाएर मुद्दा पेश गरेको छ ।

राहदानी छपाइका लागि गरिएको खरिद तथा ठेक्का प्रक्रियामा कानुनविपरीत निर्णय तथा कार्यसम्पादन भएको निष्कर्षसहित आयोगले अनुसन्धान अघि बढाएको थियो । सोही अनुसन्धानका आधारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

यस प्रकरणमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि अनुसन्धानका क्रममा बयानका लागि बोलाइएको भएपनि दायर गरिएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update