नेपाल न्युज प्वाइन्ट डटकम
मनसुन थप चार प्रदेशमा विस्तार

काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ । 

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज जारीे मनसुनसम्बन्धी बुलेटिनअनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप चार प्रदेशमा विस्तार भएको हो । 

महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको छ । यद्यपि मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद् सञ्जीव अधिकारी बताउँछन् ।

सामान्यतया नेपालमा मनसुन जुन १३ मा प्रवेश गर्ने भए पनि यस वर्ष छ दिन ढिलो गरी प्रवेश गरेको महाशाखाले जनाएको छ । मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा वर्षा हुने क्रम सुरु भएको छ । 

महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन भइरहेको जनाएको छ । मौसम सम्बन्धी अद्यावधिक जानकारी तथा आगामी तीन दिनको मौसम बुलेटिन नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

विभागले मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ । विभागका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार यस मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षाको हुने सम्भावना छ । 

विभागका अनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भू–भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुनेछ । 

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update