नेपाल न्युज प्वाइन्ट डटकम
रास्वपालाई कांग्रेस सभापति गगन थापाको सुझाव- आफ्ना नेतालाई पनि प्रश्न गर्न सक्ने साहस राख्नुस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थापना भएको छोटो अवधिमै प्राप्त गरेको जनसमर्थनलाई ‘लोभलाग्दो’ र असाधारण भन्दै प्रशंसा गरेका छन्। उनले रास्वपाका नेता–कार्यकर्तालाई आफ्ना नेताहरूलाई अन्धभक्तिका आधारमा नहेरी गल्ती गर्दा प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गरेका छन्।

चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले चार वर्षको अवधिमै रास्वपाले हासिल गरेको जनमत नेपाली राजनीतिक इतिहासमा दुर्लभ उपलब्धि भएको बताए।

“पार्टी गठन भएको चार वर्षमै तपाईंहरूले जुन जनसमर्थन पाउनुभएको छ, त्यो लोभलाग्दो छ। म मुक्तकण्ठले यसको प्रशंसा गर्छु,” उनले भने।

थापाले इतिहासमा यस्ता असाधारण जनमत प्राप्त गरेका दल र नेताहरू अहंकार, आन्तरिक द्वन्द्व तथा सत्ताको उन्मादका कारण कमजोर बनेको स्मरण गराउँदै रास्वपालाई त्यस्तो गल्ती नगर्न सुझाव दिए। उनका अनुसार जनताको विश्वासलाई संगठन निर्माण, आन्तरिक लोकतन्त्र र सुशासनमार्फत जोगाउन सकिए मात्र राजनीतिक सफलता दीर्घकालीन बन्न सक्छ।

रास्वपाका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफ्ना नेताहरूलाई ‘भगवान्’ नबनाउन आग्रह गरे। कांग्रेसले आफ्ना कमजोरी समयमै सच्याउन नसक्दा राजनीतिक क्षति व्यहोर्नुपरेको स्वीकार गर्दै उनले रास्वपाले त्यही गल्ती दोहोर्‍याउन नहुने बताए।

“तपाईंहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले आफ्ना नेताहरूलाई भगवान् र ‘बा’ बनाएर गल्ती गरिसक्यौं। गल्ती गर्दा आफ्नै नेतालाई प्रश्न गर्ने आँट राख्नुस्,” उनले भने।

थापाले कांग्रेस र रास्वपाबीच राजनीतिक प्रतिस्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको स्पष्ट पारे। कांग्रेस रास्वपाको ‘दुश्मन’ नभई प्रमुख प्रतिस्पर्धी दल भएको उल्लेख गर्दै उनले अरूलाई कमजोर बनाएर होइन, आफूलाई सुधारेर अगाडि बढ्ने कांग्रेसको लक्ष्य रहेको बताए।

“नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी तपाईंहरूको अग्लाइ देखेर लोभिएका छौं। तर तपाईंहरूको खुट्टा काटेर होइन, इमानदार काम गरेर तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं,” उनले भने।

उनले कांग्रेसलाई सफा र सुदृढ बनाउन पार्टीभित्रको कमजोरी, विकृति र दुर्गन्ध हटाउनुपर्ने आवश्यकता रहेको पनि स्वीकार गरे। बाहिरी दलसँगको प्रतिस्पर्धाभन्दा बढी आफ्नै पार्टीभित्र सुधार र आत्मसमीक्षाको आवश्यकता रहेको उनको भनाइ थियो।

संसदीय अभ्यासबारे बोल्दै थापाले विपक्षी दलको भूमिका केवल विरोधमा सीमित नहुने बताए। सरकारले गलत निर्णय गर्दा आलोचना गर्ने र सही काम गर्दा समर्थन गर्ने नीति कांग्रेसले अवलम्बन गर्ने उनले बताए।

“जहाँ प्रश्न उठाउनुपर्ने हुन्छ, त्यहाँ प्रश्न उठाउँछौं। जहाँ समर्थन गर्नुपर्ने हुन्छ, त्यहाँ समर्थन पनि गर्छौं,” उनले भने।

थापाले लोकतान्त्रिक राजनीतिक दलहरूको बलियो प्रतिस्पर्धाले नै लोकतन्त्रलाई सुदृढ बनाउने उल्लेख गर्दै जनताले दिएको विश्वासलाई जिम्मेवारीपूर्वक प्रयोग गर्न सबै राजनीतिक दलले आत्मअनुशासन र पारदर्शितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update