नेपाल न्युज प्वाइन्ट डटकम
जावलाखेलमा देखाइयो भोटो

काठमाडौं : वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो शनिबार ललितपुरको जावलाखेलमा सर्वसाधारणलाई देखाइएको छ । 

परम्परागत सांस्कृतिक विधिअनुसार जावलाखेलमा आयोजित एक विशेष समारोहका बीच सो भोटो प्रदर्शन गरिएको हो । भोटो देखाउने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थिति रहेको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको सहभागिता रहेको थियो ।

सो अवसरमा मन्त्रीगणका साथै नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

हरेक वर्ष रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा रहिआएको छ । भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ ।

कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: शनिबार, असार ६, २०८३  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update