नेपाल न्युज प्वाइन्ट डटकम
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं : नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा कैलाली निवासी डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विभिन्न विधेयकहरू संघीय संसद्‍मा पेस गर्ने र नयाँ विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको बताए ।

मन्त्रिपरिषद्ले सहकारी क्षेत्रको सुधार र नियमनका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ । जसअन्तर्गत सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ । साथै, वचत तथा ऋण सहकारीको नियमन तथा सुपरीवेक्षण सम्बन्धमा व्यवस्था गर्न तर्जुमा गरिने विधेयकको सिद्धान्तलाई पनि बैठकले स्वीकृति दिएको छ । 

बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक र राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्‍मा पेस गर्न अनुमति दिएको छ ।

यसैगरी, विभिन्न ऐनहरूलाई समयसापेक्ष परिमार्जन गर्नका लागि प्रतिस्थापन विधेयकहरू संघीय संसद्‍मा पेस गर्ने निर्णय समेत भएको छ । यसरी पेस गरिने विधेयकहरूमा सहकारी ऐन, २०७४, सार्वजनिक खरिद ऐन, २०६३, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेका विधेयकहरू रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update