काठमाडौं : जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले शुक्रबार सूचना जारी गर्दै चिडियाखाना अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरिएको जनाएको हो । संक्रमणका कारण आम दर्शकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको कोषले स्पष्ट पारेको छ ।
कोषद्वारा जारी सूचनामा चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु संक्रमण देखिएकाले आज असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द रहने उल्लेख गरिएको छ । यद्यपि संक्रमण कुन–कुन जीवजन्तुमा देखिएको हो भन्नेबारे विवरण सार्वजनिक गरिएको छैन ।
चिडियाखाना व्यवस्थापनका अनुसार संक्रमण थप फैलिन नदिन तथा आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्न सम्पूर्ण अवलोकन तथा अन्य गतिविधि तत्कालका लागि स्थगित गरिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको व्यवस्थापनमा सञ्चालन हुँदै आएको सदर चिडियाखाना देशकै प्रमुख पर्यटकीय तथा शैक्षिक गन्तव्यका रूपमा परिचित छ । दैनिक ठुलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन् ।


