काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज (शुक्रवार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको गरेको हो ।
परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । यसपटक नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । त्यसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए ।
देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो ।
सार्वजनिक नतिजा अनुसार यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ परीक्षामा सहभागी कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका हुन् ।
त्यसैगरी, नियमिततर्फका १ लाख ४ सय ७१ एनजीको सामना गरे । यो नियमिततर्फको कुल परीक्षार्थी संख्याको करिब ३०.२५ प्रतिशत हो ।
नियमित र आंशिक गरी यसपटक कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये आंशिकतर्फका ३६ हजार ४२० जनासहित कुल २ लाख ६८ हजार १९० जनाले नतिजामा सफलता हात पारेका छन् ।
दुवैतर्फका गरी ६४.३१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा अमर्यादित गतिविधि गर्ने ४० जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।
सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड ल्याउनुपर्ने बोर्डले जनाएको छ । सोभन्दा कम अंक ल्याई बढीमा दुई विषयमा ‘एनजी’ आएका वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीले मौका (पूरक) परीक्षा दिन पाउनेछन् । समयतालिका छिट्टै सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।
विद्यार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमको वेबसाइट साथै एसमएसबाट थाहा पाउन सकिने बताएको छ ।


