काठमाडौं : ई-पासपोर्ट खरिदमा भएको झन्डै एक अर्ब रुपैयाँको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि अनुसन्धान सुरु गरेको छ ।
अख्तियारको टोलीले बुधबार बयानका लागि उपस्थित हुन भन्दै उनको बूढानीलकण्ठस्थित निवासमा म्याद तामेल गरेको छ ।
देउवा दम्पती विगत केही समयदेखि उपचारका लागि सिंगापुरमा रहेकाले उनीहरूको अनुपस्थितिमा स्थानीय जनप्रतिनिधिको रोहवरमा म्याद टाँसिएको हो ।
राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसहितका पदाधिकारीहरूसँगको मिलेमतोमा योग्यता नपुगेको कम्पनीलाई ठेक्का दिलाएर राज्यलाई नोक्सानी पुर्याएको उनीमाथि आरोप छ ।
अख्तियार स्रोतका अनुसार यस सेटिङमा आरजुका छोरा जयवीर देउवा समेत संलग्न रहेको भनी परेका उजुरी र प्राप्त प्राविधिक प्रमाणका आधारमा उनीहरूलाई अनुसन्धानको दायरामा ल्याइएको हो ।
यो प्रकरणमा हालसम्म राहदानी विभागका महानिर्देशक अर्यालसहित चार जना पक्राउ परिसकेका छन् भने अन्य ४० जनामाथि छानबिन भइरहेको छ ।
अख्तियारले अर्को साताको सुरुवातमै यो मुद्दाको टुंगो लगाउने गरी जनशक्ति थपेर अनुसन्धानलाई तीव्रता दिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले अनुसन्धानमा ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएपछि यस प्रक्रियाले गति लिएको बताइएको छ ।


