काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमनका क्रममा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । काममा ढिलाइ गर्ने ठेकेदारलाई ‘खुट्टा भाँचेर भए पनि काम लगाउनू’ भन्ने आशयको निर्देशन सार्वजनिक भएपछि उनको आलोचना भइरहेको छ ।
आइतबार मुग्लिङदेखि नागढुंगासम्मको सडकखण्डको स्थलगत निरीक्षणका क्रममा मन्त्री लम्सालले सडक विस्तारमा अवरोध बनेका बिजुलीका पोल समयमै नसारिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । निरीक्षणका बेला मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय, प्रहरी उपरीक्षक सुमित खड्कालगायत सरोकारवाला अधिकारी उपस्थित थिए ।
भिडियोमा मन्त्री लम्सालले बिजुलीको पोल सार्ने जिम्मा पाएको ठेकेदारलाई खोजेर ल्याउन निर्देशन दिँदै काम नगरे ‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्ति दिएको देखिन्छ । उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ र मन्त्रीको अभिव्यक्तिप्रति विभिन्न कोणबाट प्रतिक्रिया आएका छन् ।
मन्त्री लम्सालले स्थानीयवासीले लामो समयदेखि सडक निर्माणमा ढिलाइका कारण सास्ती भोग्नुपरेको उल्लेख गर्दै पोल हटाउने काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । उनले निर्माण सामग्रीको व्यवस्थापन तथा अन्य प्रशासनिक सहजीकरणका विषयमा समेत चाँडो निर्णय गर्न आग्रह गरेका थिए ।
नागढुंगा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) की आयोजना प्रमुख तथा प्रमुख जिल्ला इन्जिनियर सजना अधिकारीका अनुसार सडक विभाग र नेपाल विद्युत प्राधिकरणबीच करिब तीन वर्षअघि नै बिजुलीका पोल स्थानान्तरण गर्ने सहमति भएको थियो । तर प्राधिकरणले नियुक्त गरेको ठेकेदार कम्पनीले हालसम्म सबै पोल नहटाएकाले सडक निर्माण प्रभावित भएको छ ।
मन्त्री लम्साल आइतबार बुटवलबाट काठमाडौं फर्किने क्रममा सडक आयोजनाको अनुगमन गर्न पुगेका थिए। तर अनुगमनकै क्रममा दिएको अभिव्यक्तिले भने राजनीतिक तथा सामाजिक वृत्तमा बहस सिर्जना गरेको छ ।


