नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्रीको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउने आदेशको व्यग्र प्रतीक्षामा छौं : हर्क साम्पाङ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रहरीको पछिल्लो कार्यशैलीप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले राष्ट्रिय स्वाभिमान र नागरिक सुरक्षाका विषयमा प्रश्न उठाएका हुन् । सांसद साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‍मा दिएको विवादित अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग यथावत रहेको उल्लेख गर्दै उनले सभामुखबाट सो अभिव्यक्ति हटाउने आदेशको व्यग्र प्रतीक्षामा रहेको बताए । 

त्यसैगरी, सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) बाट भएको अतिक्रमण र नेपाली नागरिकमाथि गरिएको धाकधम्कीको विरोध गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रति उनले विरोध जनाए ।

माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका अजय सोदारी र बिरजन बिकलाई प्रहरीले नियन्त्रणमा लिएर झुट्टा मुद्दा चलाउन खोजेको भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए । देशभक्त युवाहरूलाई दुःख नदिन र उनीहरूलाई तत्काल रिहा गर्न उनले माग गरे ।

प्रहरीको पछिल्लो कार्यशैलीमाथि प्रश्न उठाउँदै सांसद साम्पाङले विद्यार्थीहरूको मोबाइल खोसेर नष्ट गरिएको र एक विपन्न टेम्पो चालकको सवारी साधन भीरबाट खसालिएको घटनाको आलोचना गरे । 

उनले भने, ‘विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाउने र गरिबको टेम्पो भीरबाट गुल्ट्याउने जस्ता अमानवीय कार्य गर्नेलाई कारबाही हुनुपर्छ ।’

पीडित चालकलाई क्षतिपूर्तिको व्यवस्था गर्न समेत उनले माग गरे । सुरक्षाकर्मीबाटै सर्वसाधारणको घरको छानामा ढुंगा प्रहार गर्ने जस्ता उछृङ्खल गतिविधि भइरहेको उल्लेख गर्दै उनले प्रहरीको उपस्थितिमा नागरिकले सुरक्षाको साटो त्रास महसुस गर्नु लोकतन्त्रका लागि घातक भएको टिप्पणी गरे ।

प्रहरी देख्दा नागरिकले सुरक्षा र शान्तिको महसुस गर्ने वातावरण सिर्जना गर्न र लोकतन्त्रको ग्यारेन्टी गर्न सांसद साम्पाङले सरकारसँग माग गरे ।

प्रकाशित मिति: सोमबार, असार १, २०८३  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update