काठमाडौं : प्रतिनिधिसभाको शुक्रबारको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले उक्त घटनाबारे संसदमा जवाफ दिन रक्षामन्त्रीलाई उपस्थित गराउन सभामुखसँग माग गरेका छन् ।
बैठकमा बोल्दै साम्पाङले वर्तमानमा रक्षा मन्त्रालयको जिम्मेवारी कसले सम्हालिरहेको छ भन्ने प्रश्न उठाउँदै सीमासम्बन्धी संवेदनशील विषयमा सरकार मौन बसेको आरोप लगाए । उनले सुस्तामा भारतीय पक्षका सुरक्षा अधिकारीले नेपाली नागरिकलाई धम्क्याएको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे सरकारको स्पष्ट धारणा माग गरे ।
सभामुखलाई सम्बोधन गर्दै उनले रक्षामन्त्रीलाई संसद्मा बोलाउन र घटनाबारे जवाफदेही बनाउन रुलिङ गर्न आग्रह गरे । “हामी रक्षामन्त्रीसँग केही महत्वपूर्ण प्रश्न सोध्न चाहन्छौं,” उनले भने ।
साम्पाङले सुस्तामा नेपाली नागरिक आफ्नो भूमि जोगाउन संघर्षरत रहेको दाबी गर्दै भारतीय सशस्त्र सीमा बलका सदस्यहरूले उनीहरूमाथि दबाब र हप्कीदप्की गरेको भिडियो सार्वजनिक भएको बताए । उनले उक्त घटनाप्रति नेपाल सरकारको प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले सीमाक्षेत्रमा नेपाली सेना परिचालन हुन नसक्नुको कारण पनि स्पष्ट पार्न सरकारसँग माग गरे । “नेपाली सेना सीमामा जान नहुने अवस्था किन सिर्जना भएको हो ? नेपाल सरकारले त्यस्तो कुनै सम्झौता वा करार गरेको छ भने त्यसबारे संसदलाई जानकारी गराउनुपर्छ,” उनले भने ।
साम्पाङले सीमासम्बन्धी विषय राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतासँग जोडिएको भन्दै सरकार गम्भीर बन्नुपर्ने धारणा राखे । उनले सुस्ता घटनाबारे यथाशीघ्र संसदमा औपचारिक जानकारी गराउन र आवश्यक कूटनीतिक तथा सुरक्षा पहल गर्न सरकारसँग माग गरेका छन् ।


