काठमाडौं : फिफा विश्वकप २०२६ मा सहआयोजक मेक्सिको र दक्षिण कोरियाले विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दा दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २-१ को संघर्षपूर्ण जित दर्ता गरेको हो ।
मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका रंगशालामा सम्पन्न उद्घाटन खेलमा घरेलु टोली मेक्सिकोले प्रभावशाली प्रदर्शन गर्दै दक्षिण अफ्रिकामाथि सहज जित निकाल्यो । विश्वकप इतिहासमा तीन फरक संस्करणको आयोजना गर्ने पहिलो रंगशाला बनेको एज्टेकामा खचाखच दर्शकमाझ मेक्सिकोका जुलियन क्विनोनेस र राउल जिमेनेजले गोल गरे ।
यसै खेलमार्फत मेक्सिकोका युवा खेलाडी गिल्बर्टो मोराले विश्वकप डेब्यु गर्दै नयाँ कीर्तिमान समेत बनाए । उनी विश्वकप खेल्ने मेक्सिको तथा उत्तर अमेरिकाकै सबैभन्दा कान्छा खेलाडी बनेका छन् । साथै, विश्वकप इतिहासका छैटौं कान्छा खेलाडीको सूचीमा पनि उनको नाम दर्ज भएको छ ।
यता, समूह चरणकै अर्को खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै आफ्नो अभियान शानदार ढंगले सुरु गरेको छ । खेलको अन्तिम १० मिनेटमा निर्णायक गोल गर्दै कोरियाले महत्वपूर्ण तीन अंक सुरक्षित गरेको हो ।
सुरुवातदेखि नै बल नियन्त्रण र आक्रमणमा प्रभुत्व जमाएको दक्षिण कोरियाले पहिलो हाफमा धेरै अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । कप्तान सोन ह्युङ–मिनको एक शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्किएको थियो भने अर्को अवसर थोरैले बाहिरिएको थियो ।
खेलको दोस्रो हाफमा भने चेक गणतन्त्रले पहिले अग्रता लियो। लाडिस्लाव क्रेज्चीले गोल गर्दै टोलीलाई १–० को अवस्थामा पुर्याएपछि खेल रोमाञ्चक बनेको थियो ।
तर कोरियाले पुनरागमन गर्न धेरै समय लगाएन। ६७औं मिनेटमा ह्वाङ इन–बिओमले आकर्षक प्रहारमार्फत बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए । त्यसपछि लगातार दबाब बनाएको कोरियाले ८०औं मिनेटमा निर्णायक सफलता हात पार्यो ।
ह्वाङले उपलब्ध गराएको पासलाई वैकल्पिक खेलाडी ओह ह्योन–ग्यूले सहजै गोलमा परिणत गर्दै दक्षिण कोरियालाई २–१ को अग्रता दिलाए ।


