नेपाल न्युज प्वाइन्ट डटकम
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् ।

उनले राजदरबार हत्याकाण्डसम्बन्धी यसअघि भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी आवश्यक थप छानबिन प्रक्रिया अघि बढाइने बताए । उनले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन गरिएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गरी सिफारिससहित प्रतिवेदन पेस गर्न विशेष कार्यदल गठन गर्ने समेत बताए ।

गृहमन्त्री गुरुङले गृह मन्त्रालय र नेपाल प्रहरीबाट संवेदनशील सूचना चुहावट रोक्न सूक्ष्म अध्ययन गरी दोषीमाथि कारबाही सिफारिस गर्न सुरक्षा निकायमा विशेष अनुसन्धान टोली (एसआइटी) गठन गर्ने घोषणा गरे ।

उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप प्रभावकारी बनाउँदै, हाल प्रक्रियामा रहेका जघन्य अपराधका अनुसन्धान फाइलहरू शीघ्र टुंगोमा पुर्याउन निर्देशन समेत दिए ।

गृहमन्त्री गुरुङले कुनैपनि नागरिकमाथि चरित्रहत्या गर्ने किसिमको व्यवहारको समेत मन्त्रालयले गम्भीरताका साथ हेर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update