काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले अर्थमन्त्रीमाथि छानबिन गर्न माग गरेका छन् । करका दर हेरफेर गर्ने अर्थमन्त्री डा स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउन उनले माग गरेका हुन् ।
आजको संसद् बैठकमा उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दै अर्थमन्त्रीले गरेको गम्भीर अपराधको छानबिन गर्नुपर्ने माग गरे । सदनमा आगामी बजेट पेश भएपनि बजेटका विषयमा छलफल गर्न बसेको सदन नियमित अवरोध हुँदै आएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले सदनबाटै नेपालले पनि भारतको जग्गा मिचेको छ भनेपछि उत्पन्न परिस्थितिका कारण सदन अवरोध गइरहेपनि प्रधानमन्त्रीले कुनै चासो देखाएका छैनन् । साथै सरकारले सदन छलेर करका दर हेरेफेर गरेपनि विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।


