नेपाल न्युज प्वाइन्ट डटकम
सर्वदलीय बैठक निष्कर्षविहीन : प्रधानमन्त्रीले जवाफ नदिए संसद् चल्न नदिने विपक्षीको अडान

काठमाडौं : संघीय संसद्‍मा जारी अवरोध तत्काल अन्त्य हुने सम्भावना कमजोर देखिएको छ । विपक्षी दलहरूले आफ्ना माग पूरा नभएसम्म संसद् बैठक अवरुद्ध पार्ने अडान कायम राखेपछि सदनको गतिरोध थप लम्बिने संकेत देखिएको हो ।

संसद्को अवरोध अन्त्य गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भए पनि संसद् सुचारु गर्ने विषयमा कुनै सहमति जुट्न सकेन ।

बैठकमा संसद्‍मा देखिएको अवरोध, पछिल्लो राजनीतिक घटनाक्रम तथा सहमतिको सम्भावनाबारे छलफल भएको थियो । तर विपक्षी दलहरूले प्रधानमन्त्रीले विवादित अभिव्यक्तिबारे स्वयं संसद्मा उपस्थित भएर जवाफ नदिएसम्म अवरोध जारी रहने स्पष्ट पारेका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर प्रकृतिको रहेको भन्दै त्यसबारे प्रधानमन्त्रीले नै संसद्‍मा स्पष्ट पार्नुपर्ने बताए ।

उनले प्रधानमन्त्रीको भनाइ राष्ट्रहितसँग जोडिएको विषय भएकाले त्यसलाई सामान्य रूपमा लिन नसकिने उल्लेख गर्दै संसद्को रोस्ट्रमबाट व्यक्त गरिएको उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने मागसमेत गरे ।

यता, सर्वदलीय बैठकका संयोजक रहेका रास्वपा सभापति रवि लामिछानेले संसद् सुचारु गर्ने उद्देश्यले परराष्ट्रमन्त्री शिशिर खनालमार्फत सरकारको धारणा सार्वजनिक गर्ने प्रस्ताव अघि सारेका थिए ।

बैठकमा परराष्ट्रमन्त्रीले सदनमा जवाफ दिने र आवश्यक परे त्यसपछि प्रधानमन्त्रीले पनि धारणा राख्न सक्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । तर विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने अडान नछाडेपछि बैठक निष्कर्षविहीन बनेको हो ।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update