काठमाडौं : लुम्बिनी प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो । जसअनुसार एमालेबाट चार जना र जनता समाजवादी पार्टीबाट एक जना गरी पाँच जना नयाँ मन्त्री नियुक्त भएका थिए ।
नवनियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारीलाल अहिर रहेका छन् ।
चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, घिमिरेलाई स्वास्थ्य मन्त्रालय, खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


