काठमाडौँ : तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।
छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले छानबिनको प्रक्रिया सकेर प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको जानकारी दिए ।
मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।
समितिले उनीमाथि लागेको आरोपका विषयमा सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरणसमेत केलाएर अध्ययन गरेको थियो । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्ट भट्टसँग साझेदार देखिएपछि गुरुङ विवादमा तानिएका थिए ।
सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लुकाएको, विवादास्पद व्यापारीको कम्पनीमा सेयर देखिएको जस्ता विषय सार्वजनिक भएपछि ९ वैशाखमा गुरुङले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए । उनले बुझाएको सम्पत्ति विवरण, जग्गा, सुन लगायतका विषयमा अनेक टीकाटिप्पणी भएका थिए ।


