काठमाडौं : सियन गेम्स क्रिकेट पुरुष छनोटअन्तर्गतको खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । सिंगापुरमा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई १६७ रनले हराएको हो ।
नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि कप्तान सैयद अजिजले अर्धशतकीय इनिङ खेले । ४५ बल खेलेका अजिजले ६ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाए ।
नेपालका लागि शेर मल्लले सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी र कुशल मल्लले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले शतकीय इनिङ खेले । उनले ५४ बलमा १४ चौका र ८ छक्काको सहयोगमा १२६ रन बनाए । कुशल भुर्तेल टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने नेपाली क्रिकेटर बनेका छन् । कुशलले कप्तान दीपेन्द्र सिंह ऐरीको यसअघिको २२११ रनको कीर्तिमान तोडेका हुन्।
आसिफ शेखले २४ बलमा ७ छक्का र ५ चौकाको सहयोगमा ६८ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले ३१ रन बनाए । सन्दीप जोराले १५ रन, लोकेश बमले १० र करण केसीले ७ रन बनाए । कुशल मल्ल ९ र सोमपाल कामी १ रनमा नटआउट रहे ।
मलेसियाका विरन्दीपले सर्वाधिक तीन तथा साइद अजिज र विजय उनीले समान दुई विकेट लिएका थिए ।
यस जितसँगै नेपाल समूह विजेताका रूपमा र मलेसिया उपविजेताका रूपमा एसियन गेम्समा छनोट भएका छन् । चीन भने लगातार पराजित हुँदै बाहिरिसकेको छ ।


