नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्रीले संसद्‍मै माफी नमागेसम्म सदन चल्न नदिने विपक्षी दलको निर्णय

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरू थप आक्रामक बनेका छन् । प्रधानमन्त्रीले संसद्‍मा दिएको अभिव्यक्ति सच्याउँदै सार्वजनिक रूपमा माफी नमागेसम्म सदन चल्न नदिने निष्कर्ष प्रतिपक्षी दलहरूले निकालेका छन् ।

सोमबार सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूबीच बैठक बसेको थियो । बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन र संसद्मै उपस्थित भएर स्पष्टीकरणसहित माफी माग्नुपर्ने माग अघि सारेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले सीमा अतिक्रमणसम्बन्धी दिएको अभिव्यक्ति गम्भीर र राष्ट्रहितविपरीत रहेको निष्कर्ष बैठकले निकालेको बताए ।

उनले प्रधानमन्त्रीले संसद्‍मा व्यक्त गरेको भनाइ फिर्ता लिएर देशवासीसँग माफी नमागेसम्म प्रतिपक्षी दलहरूले संसद् अवरोध जारी राख्ने निर्णय गरेको जानकारी दिए ।

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले पनि प्रधानमन्त्रीको अभिव्यक्ति त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने धारणा राखेका थिए । राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले समेत प्रधानमन्त्रीले संसद्‍मै आएर स्पष्टिकरण दिनुपर्ने माग आफ्नो दलको रहेको बताइन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादका सन्दर्भमा ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनेर अभिव्यक्ति दिएका थिए । उक्त भनाइपछि कांग्रेस र नेकपाले तत्कालै संसद्मा आपत्ति जनाउँदै त्यसको पुष्टि गर्न वा अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update