काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा नियमावली उल्लंघन नभएको स्पष्ट पारेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले नियमावली मिचिएको भन्दै आपत्ति जनाएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।
बैठकको सुरुमा विशेष समय लिँदै सांसद युवराज दुलालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ (१) बमोजिम प्रधानमन्त्रीलाई प्रश्न सोध्नुभन्दा तीन दिन अगाडि नै लिखित जानकारी दिनुपर्ने र प्रश्नोत्तरका लागि एक घण्टा समय छुट्याइनुपर्ने प्रावधान मिचिएको भन्दै नियमापत्ति जनाएका थिए । उनले संविधान र नियमावली मिचिनु राष्ट्रका लागि दुःखद् भएको टिप्पणी गरे ।
त्यसैगरी, सांसद ऐन महरले पनि नियमावलीको नियम ५६ को उपनियम ३ र ४ को हवाला दिँदै प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि तोकिएको प्रक्रिया पालना नगरिएको भन्दै नियमापत्ति दर्ता गराएका थिए । उनले संविधान र नियमावलीभन्दा माथि कोही पनि नभएको उल्लेख गर्दै लिखित प्रश्नहरू लिने र सोहीअनुसार जवाफ दिने परम्परा कायम राख्न सभामुखको ध्यानाकर्षण गराए ।
जवाफमा सभामुख अर्यालले सांसदहरूलाई नियमावलीको नियम ५६ पुनः अध्ययन गर्न आग्रह गरे । विपक्षी बेन्चका सदस्यहरूले निरन्तर उठाएको मागबमोजिम नै प्रधानमन्त्री सदनमा उपस्थित भई उत्तर दिन तयार रहेको उनको भनाइ थियो ।
सभामुखले सांसदहरूलाई आ–आफ्नो स्थानमा बस्न आग्रह गर्दै बैठकको प्रक्रिया अगाडि बढाएका थिए । विपक्षी दलका सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्री तयार रहेको भन्दै उनले सदनको कारबाहीलाई निरन्तरता दिएका थिए ।


