काठमाडौं : ओपनर कुशल भुर्तेलको विस्फोटक शतक तथा कुशल मल्ल र रोहित पौडेलको आक्रामक ब्याटिङको मद्दतमा नेपालले एसियन गेम्स क्रिकेट छनोट प्रतियोगितामा चीनलाई २२१ रनले पराजित गर्दै सेमिफाइनल यात्रा लगभग सुनिश्चित गरेको छ ।
समूह ‘ए’ अन्तर्गत आइतबार सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमा अलआउट भयो । जितसँगै नेपालले प्रतियोगिताको अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले समूह चरणको अर्को खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
चीनका लागि झेङ सेनिजानले सर्वाधिक ३१ रन बनाए । उनले १५ बलमा एक चौका र चार छक्का प्रहार गरे। जिआनहो दुले १७ तथा तियान सेंकुनले १२ रन जोडे पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि कुशल मल्लले तीन विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई-दुई विकेट हात पार्दा नन्दन यादवले एक विकेट लिए ।
त्यसअघि सिंगापुर नेसनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै ३१३ रनको विशाल योगफल बनाएको थियो । यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको दोस्रो उच्च स्कोर हो । यसअघि नेपालले १९औं एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो ।
नेपालको इनिङ्समा कुशल भुर्तेलले ४३ बलमा पाँच चौका र १६ छक्काको मद्दतमा १२९ रनको विस्फोटक शतकीय पारी खेले । उनले खेलको नवौं ओभरमा लगातार छ छक्का प्रहार गर्दै नयाँ कीर्तिमानसमेत बनाए। उक्त उपलब्धि हासिल गर्ने उनी नेपालका दोस्रो तथा विश्व क्रिकेटका छैटौँ खेलाडी बने ।
यस्तै, कुशल मल्लले ४७ बलमा आठ चौका र पाँच छक्कासहित अविजित ८५ रन बनाए भने कप्तान रोहित पौडेलले २१ बलमा पाँच चौका र सात छक्काको सहयोगमा अविजित ६९ रन जोडे । अर्का ओपनर आसिफ शेख ११ रनमा आउट भए ।
चीनका मा कुइनचेन र डेंग जिंकीले समान एक–एक विकेट लिए ।


