काठमाडौं : सर्वोच्च अदालतले इजलास तथा मुद्दा व्यवस्थापनका लागि लागू गरिएको गोलाप्रथा प्रक्रियालाई परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।
बुधबार सर्वोच्च अदालतका प्रवक्ता एवं सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै गोला प्रक्रियाबारे पुनर्विचार भइरहेको भन्ने चर्चा तथ्यहीन भएको बताएका हुन् ।
विज्ञप्तिमा दैनिक पेसी व्यवस्थापनका लागि अपनाइएको गोला प्रक्रियालाई परिवर्तन गर्ने विषयमा औपचारिक रूपमा कुनै छलफल वा निर्णय नभएको उल्लेख गरिएको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार र व्यक्त धारणा तथ्यमा आधारित नभएको भन्दै अदालतले स्पष्टिकरण दिएको हो ।
पछिल्लो समय नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि गोला प्रणाली हटाएर प्रधानन्यायाधीशले नै इजलास तोक्ने तयारी भइरहेको भन्ने चर्चा सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा फैलिएको थियो । त्यसपछि सर्वोच्च अदालतले औपचारिक धारणा सार्वजनिक गर्दै उक्त हल्लाको खण्डन गरेको हो ।
यसअघि नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले गोला प्रणाली हटाउने प्रयास भए आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए । उनले गोला प्रणाली हटाइए त्यसविरुद्ध कानुन व्यवसायीहरूले कस्तो आन्दोलन गर्ने भन्ने विषयमा समेत सोच्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
हाल सर्वोच्चसँगै उच्च, विशेष तथा जिल्ला अदालतहरूमा पनि गोला प्रक्रियामार्फत मुद्दाको सुनुवाइ गर्ने अभ्यास जारी रहेको छ ।


