नेपाल न्युज प्वाइन्ट डटकम
डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

पाटन : ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

आगलागी निभाउने क्रममा घाइते भएका दुईजनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएकामा एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी गराए ।

आगो निभाउने क्रममा घाइते भएका शंकर पहरी र रमेश पहरीलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । घाइतेमध्ये शंकर पहरीको मृत्यु भएको उनले बताए । ललितपुरको गोदावरीस्थित लेले जंगलमा तीन-चार दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ ।

आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाइ छ । यस्तै, डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update