काठमाडौं : नेपाल मगर संघ को १३औँ राष्ट्रिय महाधिवेशनबाट रक्षाबहादुर रैका मगर अध्यक्षमा निर्वाचित भएका छन्। उनले कुल १९६ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पार्दै नेतृत्व सम्हालेका हुन्।
अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा धनबहादुर पुनले १३३, गंगाबहादुर थापाले ८९, दलबहादुर विरकट्टाले २० र गंगा खासुले १४ मत प्राप्त गरेका थिए। खासुले भने अन्तिम चरणमा उम्मेदवारी फिर्ता लिएकी थिइन्।
संघको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै महासचिव पदमा होमराज खपाङ्गी १७१ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जगतबहादुर रेश्मीले १६३ मत पाउँदा रामबहादुर अस्लामीले ९८ मत प्राप्त गरेका थिए।
खुला उपाध्यक्षतर्फ कविराज मगर (२४२ मत) र तेजबहादुर आले (११० मत) निर्वाचित भएका छन्। सांस्कृतिक उपाध्यक्षमा दीपसागर थापा (२०७ मत) विजयी भए भने मगर ढुट उपाध्यक्षमा हर्क आले (२१० मत) निर्वाचित भए। मगर काइके उपाध्यक्षमा भीम रोकाय निर्विरोध चयन भएका छन् भने मगर खाम उपाध्यक्षमा जीवन प्रवेश (१७१ मत) विजयी भएका छन्।
महिला उपाध्यक्षमा सीता राना (१८७ मत) निर्वाचित भएकी छन्। उपमहासचिवतर्फ मञ्जु थापा (२०७), खगेन्द्रबहादुर पुन (१९९) र सिद्धान्त गर्जा (१८४) विजयी भएका छन्। महिला उपमहासचिवमा हिरुसरा राना (२२१ मत) निर्वाचित भएकी छन्।
सचिव पदमा झविन्द्रबहादुर पुन (१६३), तारामाया थापा (१५९) र विष्णुबहादुर राना (१२७) निर्वाचित भएका छन्। सहकोषाध्यक्षमा गायत्री राना (१९७ मत) विजयी भएकी छन्।
त्यस्तै विभिन्न केन्द्रीय सदस्यहरू समेत चयन भएका छन्। निर्वाचन संयोजक समितिमा तेजबहादुर आले निर्विरोध चयन हुँदा लेखा समितिमा यौवनकुमार राना निर्विरोध चयन भएका छन्।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै संघको आगामी कार्यकालका लागि नीतिगत तथा संगठनात्मक दिशाबारे अपेक्षा बढेको छ।


