काठमाडौं : आगामी जेठ १५ गते गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसबारे राष्ट्रपति कार्यालयलाई औपचारिक जानकारी गराउँदै समारोहमा राष्ट्रपतिबाट सम्बोधन गराउन अनुरोध गरेको बताइउको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार मुख्य सचिव सुमनराज अर्यालमार्फत राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्र पठाइएको हो । उक्त पत्रमा गणतन्त्रको प्रतीक राष्ट्रपतिले नै गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्नु उपयुक्त हुने उल्लेख गरिएको बताइएको छ ।
प्रधानमन्त्री कार्यालयले औपचारिक पत्राचार गरेसँगै अनौपचारिक रूपमा पनि राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गरिरहेको बताइएको छ ।
नेपालको संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । सो धाराको उपधारा २ अनुसार राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा कार्य गर्ने संवैधानिक व्यवस्था छ । यही प्रावधानअनुसार यस वर्ष गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको जनाइएको छ ।
हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षसहित उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने परम्परा छ । सो अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहँदै आएको छ ।
तर यस वर्ष प्रधानमन्त्री बनेपछि सार्वजनिक समारोहहरूमा कमै देखिएका शाहले गणतन्त्र दिवसको मूल समारोहलाई पनि सम्बोधन नगर्ने निर्णय गरेका हुन् ।


