नेपाल न्युज प्वाइन्ट डटकम
पार्टी एकताको दबाब दिँदै सानेपामा नेविसंघको धर्ना, महाधिवेशनको मिति घोषणा गर्न माग

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले पार्टीभित्रको आन्तरिक एकता सुदृढ गर्न, संगठनलाई सक्रिय बनाउन तथा १२औं महाधिवेशनको मिति घोषणा गर्न माग गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।

नेविसंघको १२औं महाधिवेशन पक्षधर समूहले आइतबार कांग्रेस कार्यालय परिसरमा प्रदर्शन गर्दै नेतृत्वको ध्यानाकर्षण गराएको हो । धर्नामा सहभागी कार्यकर्ताहरूले ‘पार्टी युनिटी फर्स्ट, इगो लेटर’, ‘१२औं महाधिवेशन सुनिश्चित गर’ र ‘युवालाई स्पेस देऊ, पार्टीलाई पेस देऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले नेपाली कांग्रेसभित्र देखिएको गुट–उपगुटको राजनीतिले संगठन कमजोर बन्दै गएको टिप्पणी गर्दै अब नेतृत्वले एकताको पहल गर्नुपर्ने बताएका छन् । उनीहरूले पार्टीभित्रको एकता विद्यार्थी संगठनबाटै सुरू हुनुपर्ने धारणा राख्दै नेविसंघलाई लामो समय निष्क्रिय अवस्थामा राख्नु उपयुक्त नभएको बताए ।

कार्यकर्ताहरूले समयमै महाधिवेशन सम्पन्न गरी युवापुस्तालाई नेतृत्व तहमा अवसर दिनुपर्ने मागसमेत गरेका छन् । उनीहरूको भनाइमा विद्यार्थी संगठनलाई चलायमान र प्रभावकारी बनाउन स्पष्ट कार्ययोजना आवश्यक छ ।

धर्नासँगै नेविसंघका कार्यकर्ताहरूले कांग्रेस सभापतिलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । ज्ञापनपत्रमा नेविसंघको नियमित अधिवेशन कहिले सम्पन्न हुने भन्ने विषयमा स्पष्ट मिति, प्रक्रिया र तयारीको रोडम्याप सार्वजनिक गर्न माग गरिएको छ ।

त्यस्तै, नेविसंघको सिनेट बैठकले प्रस्ताव गरेको ‘स्वायत्त तथा स्वचालित मोडल’ सम्बन्धमा पार्टीले औपचारिक छलफल र निर्णय प्रक्रिया अघि बढाउनुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्रमा सरकारले विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति नेपाली कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्नसमेत आग्रह गरिएको छ । विद्यार्थी आन्दोलन, संगठन स्वतन्त्रता तथा लोकतान्त्रिक अधिकारको पक्षमा पार्टीको स्पष्ट मत आउनुपर्ने उनीहरूको माग छ ।

नेविसंघ पक्षधरहरूले बदलिँदो राजनीतिक, शैक्षिक तथा सामाजिक परिवेशअनुसार विद्यार्थी आन्दोलनको भावी दिशा, स्वरूप र रणनीतिबारे पनि कांग्रेसले स्पष्ट वैचारिक तथा नीतिगत दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

उनीहरूले नेपाली कांग्रेसले नेविसंघको सुदृढीकरण, लोकतान्त्रिक अभ्यास र प्रभावकारी विद्यार्थी आन्दोलन निर्माणलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्दै माग सम्बोधनमा ढिलाइ नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update