काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी जेठ १८ गते आसपास भारत भ्रमणमा जाने तयारीमा रहेका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको भनिएको उक्त भ्रमणलाई नेपाल–भारत सम्बन्धको वर्तमान सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
लामिछाने दुई दिन भारतमा रहनेछन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । साथै भारतीय जनता पार्टी (भाजपा)का केही उच्च पदाधिकारीसँग पनि उनको छलफल तय भएको जनाइएको छ ।
नेपालमा नयाँ सरकार गठन भएपछि दुई देशबीच उच्चस्तरीय राजनीतिक भ्रमणहरू सुस्त बनेका बेला लामिछानेको प्रस्तावित भारत भ्रमणलाई विशेष चासोका साथ हेरिएको हो । रास्वपाले निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्दै सरकारको नेतृत्व लिएपछि नेपाल–भारत सम्बन्धमा केही दूरी बढेको चर्चा भइरहेका बेला भारतीय पक्षले लामिछानेलाई औपचारिक निमन्त्रणा दिएको स्रोतको दाबी छ ।
भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई भ्रमणको निमन्त्रणा दिएपनि भ्रमणको मिति अझै तय भइसकेको छैन ।
भारतले नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमण भारतमै होस् भन्ने चाहना राख्दै आएको छ । तर प्रधानमन्त्री शाहले आवश्यकता र प्राथमिकताका आधारमा जुनसुकै देशको भ्रमण गर्न सकिने धारणा राख्दै आएका छन् ।


