काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारामा आयोजित विस्तारित बैठकमा विवाद र तनाव उत्पन्न भएको छ । जिल्लाका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताहरूले निर्वाचित सांसदहरूविरुद्ध प्रदर्शन गरेपछि बैठकमा विवाद र तनाव उत्पन्न भएको हो ।
पार्टीका पुराना कार्यकर्ता र सांसदहरूबिच विवाद बढेर स्थिति तनावग्रस्त बनेपछि प्रहरीले हस्तक्षेप गरी चारै जना सांसदहरूलाई सुरक्षित स्थानमा पुर्याएको छ ।
बारा रास्वपाका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई जिल्लाबाट निर्वाचित चारै जना सांसदले कारबाही गर्न केन्द्रमा लिखित पत्र पठाएपछि यो विवाद सुरु भएको हो ।
उक्त सिफारिसका आधारमा स्वर्णकार निलम्बनमा परेपछि पार्टीका पुराना कार्यकर्ताहरू रुष्ट बनेका थिए । शनिबार कलैयामा आयोजित विस्तारित बैठकमा सोही विषयलाई लिएर पुराना पक्षका कार्यकर्ताहरूले सांसदहरूको विरोध गर्दै बैठक स्थलबाट बाहिर निकालेका थिए ।


