काठमाडौं : आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गतको खेलमा घरेलु टोली नेपालले अमेरिकाविरुद्ध सानदार जित हासिल गरेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको हो ।
नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमा बनाउँदै अलआउट भयो । अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५६ रन बनाए । त्यस्तै सयान जहंगीरले २७, सेहन जयसूर्यले २६ र सैतेजा मुक्कामालाले १२ रन बनाए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन बनाएको थियो ।
त्रिवि क्रिकेट मैदानमा नेपालले बनाएको यो योगफल अहिलेसम्मकै सर्वाधिक हो । यसअघि नेपालले २०२३ मा त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्ध ३१० रन बनाएको थियो ।
नेपालका लागि डा. ईशान पाण्डे र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ खेले । ईशानले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।
दीपेन्द्रले ५९ रन बनाए । कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए ।
अमेरिकाका लागि शुभम रन्जानेले ३ विकेट लिए भने रुसिल उगारकर र मिलिन्द कुमारले समान १-१ विकेट लिए ।


