नेपाल न्युज प्वाइन्ट डटकम
नेपालले अमेरिकालाई दियो ३१८ रनको विशाल लक्ष्य

काठमाडौं : आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गतको खेलमा घरेलु टोली नेपालले अमेरिकालाई ३१८ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन बनाएको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले बनाएको यो योगफल अहिलेसम्मकै सर्वाधिक हो । यसअघि नेपालले २०२३ मा त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्ध ३१० रन बनाएको थियो । 

नेपालका लागि डा. ईशान पाण्डे र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ खेले । ईशानले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।

दीपेन्द्रले ५९ रन बनाए । कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए ।

अमेरिकाका लागि शुभम रन्जानेले ३ विकेट लिए भने रुसिल उगारकर र मिलिन्द कुमारले समान १-१ विकेट लिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update