नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्रीलाई भेटेर सभामुखले संसद्काे अवरोधबारे गराए जानकारी

काठमाडौं : प्रतिनिधिसभामा जारी अवरोध खुलाउने विषयमा सभामुख डोलप्रसाद अर्याल र प्रधानमन्त्री वालेन्द्र शाहबीच छलफल भएको छ ।

सदन अवरुद्ध भएपछि सभामुख अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । विपक्षी दलहरूले प्रधानमन्त्री शाह संसद्‍मा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।

बिहीबारको बैठकमा पनि विपक्षी सांसदहरूले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने माग गर्दै अवरोध गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । त्यसपछि उनी प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

सभामुखले प्रधानमन्त्रीसँग संसदको अवरोधबारे छलफल गरेका छन् । प्रधानमन्त्रीसँगको भेटपछि सभामुख पुनः संसद् भवन फर्किसकेका छन् ।

विपक्षी दलहरूले प्रधानमन्त्री शाहको उपस्थितिको मागलाई जोडदार रूपमा उठाइरहेका बेला सभामुखले अवरोध हटाउने प्रयासस्वरूप प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । यद्यपि छलफलपछि पनि प्रधानमन्त्री शाह बिहीबार नै संसदमा उपस्थित हुने सम्भावना कम रहेको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update