काठमाडौं : सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन् । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नियुक्तिपछि उनी बिदामा बसेकी हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले मल्ल २० दिन बिदामा बसेको जानकारी दिएका छन् । उनका अनुसार मल्लले कायममुकायम प्रधानन्यायाधीशकै हैसियतमा आफैं बिदा स्वीकृत गराएर बिदा लिएकी हुन् ।
यसअघि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण अवकाश भएपछि मल्लले २०८२ चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
तर संवैधानिक परिषद्ले सर्वोच्च अदालतको वरीयतामा आफूभन्दा पछाडि रहेका डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि उनी असन्तुष्ट रहेकी थिइन् ।
सर्वोच्च अदालतको वरीयतामा मल्ल पहिलो, कुमार रेग्मी दोस्रो र हरिप्रसाद फुयाल तेस्रो नम्बरमा रहेका थिए । परिषद्ले भने चौथो नम्बरका शर्मा प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।
डा. शर्माले मंगलबार संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरी पदभार सम्हालिसकेका छन् । तर शपथ ग्रहण समारोह र सर्वोच्च अदालतमा आयोजित स्वागत कार्यक्रममा मल्ल सहभागी भएकी थिइनन् । उनको अनुपस्थितिमा न्यायाधीश कुमार रेग्मीले शर्मालाई स्वागत गरेका थिए ।


