नेपाल न्युज प्वाइन्ट डटकम
विश्वकप लिग-२ : स्कटल्यान्डलाई हराउँदै पाँचौं स्थानमा उक्लियो नेपाल

काठमाडौं : नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको छ । यो जितसँगै नेपाल अंक तालिकामा दुई स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १ सय ९४ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ७४ रनको उत्कृष्ट इनिङ खेले । उनले ९८ बलमा दुई छक्का र पाँच चौका प्रहार गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १२औं अर्धशतक पूरा गरे ।

यस्तै, डा. ईशान पाण्डेले ५५ रन बनाउँदै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरे । उनले ६१ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । रोहित र ईशानबीच तेस्रो विकेटका लागि १ सय ४ रनको साझेदारी हुँदा नेपाल सहज जिततर्फ अघि बढेको थियो ।

ओपनर कुशल भुर्तेलले २८ तथा आसिफ शेखले २९ रनको योगदान दिए । यी दुईबीच पहिलो विकेटका लागि ५८ रनको साझेदारी भएको थियो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १ सय ९४ रनमै अलआउट भएको थियो । नेपाली बलरले सुरुदेखि नै कसिलो प्रदर्शन गर्दै स्कटल्यान्डलाई ठुलो योगफल बनाउन दिएनन् ।

नेपालका लागि ललित राजवंशीले ४ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट हात पारे । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक–एक विकेट लिए ।

सन्दीपले यस खेलमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमानसमेत बनाए । उनले ७३ खेलमै १ सय ५० विकेट पूरा गर्दै सबैभन्दा कम खेलमा उक्त उपलब्धि हासिल गर्ने विश्वकै पहिलो बलर बने । उनले अस्ट्रेलियाका मिचेल स्टार्कको ७७ खेलको कीर्तिमान तोडेका हुन् ।

स्कटल्यान्डका लागि ब्रान्डन म्याकमलेनले सर्वाधिक ७३ रन बनाए । उनले ४४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । माइकल इङ्लिसले ५१ रनको अर्धशतकीय इनिङ्स खेले भने जर्ज मुन्सीले २१ र मार्क वाटले २० रन जोडे ।

जारी लिग–२ मा स्कटल्यान्ड ३१ खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा कायम छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ । नेपाल २७ खेलबाट २२ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update