नेपाल न्युज प्वाइन्ट डटकम
रानीपोखरीमा मनसुनजन्य विपद् प्रतिकार्यको संयुक्त अभ्यास

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा मनसुनजन्य विपद् प्रतिकार्यसम्बन्धी संयुक्त ‘वाटर रेस्क्यु सिमुलेसन’ अभ्यास सञ्चालन गरेको छ ।

काठमाडौंस्थित रानीपोखरीमा आयोजित उक्त अभ्यास काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सशस्त्र प्रहरी बल नेपालको नं. १८ बाघभैरव गणको आयोजनामा गरिएको अभ्यासमा विभिन्न सुरक्षा निकायको सहभागिता रहेको थियो । वर्षायाममा बाढी, डुबान तथा अन्य सम्भावित विपद्का घटनामा प्रभावकारी उद्धार तथा प्रतिकार्य गर्ने उद्देश्यले संयुक्त अभ्यास गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

1-1778943964.jpg
 

अभ्यासका क्रममा पानीमा फसेका व्यक्तिको उद्धार, आकस्मिक अवस्थाको व्यवस्थापन, सुरक्षाकर्मीबीच समन्वय तथा विपद्का बेला अपनाइने उद्धार प्रविधिको प्रदर्शन गरिएको थियो ।

मनसून सुरु भएसँगै विपद् जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै पूर्वतयारीस्वरूप यस्तो अभ्यास गरिएको जनाइएको छ । कार्यक्रममा सुरक्षा निकायका अधिकारी, महानगरका प्रतिनिधि तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

5-1778943969.jpg
3-1778943967.jpg
6-1778943970.jpg
 

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update