नेपाल न्युज प्वाइन्ट डटकम
एन्फामाथिको निलम्बन फुकुवा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको निलम्बन फुकुवा गरेको छ । शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको छलफलपछि राखेपले एन्फामाथि लगाएको निलम्बन फुकुवा गरेको हो ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस्यसचिव रामचरित्र मेहता तथा एन्फाका महासचिव किरण राई र प्रवक्ता सुरेश शाहबीच भएको बैठकपछि निलम्बन फुकुवा गर्ने सहमति बनेको हो । बैठकमा एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र मन्त्रीका सल्लाहकार सिद्धि व्यञ्जनकार पनि सहभागी थिए ।

एन्फाका प्रवक्ता सुरेश शाहले राखेपले लगाएको निलम्बन बिनासर्त फिर्ता लिएको बताएका छन् । उनका अनुसार अब यसबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफालाई जानकारी गराइनेछ ।

राखेपले गत चैत ११ गते खेलकुद विकास ऐन २०७७ को दफा २९ (२) अनुसार एन्फा नेतृत्वलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । परिषद्ले आफ्नो निर्देशन पटकपटक पालना नभएको तथा चैत १३ गते प्रस्तावित एन्फा निर्वाचनलाई लिएर उक्त कदम चालेको जनाएको थियो ।

निलम्बन फुकुवासँगै नेपाली महिला फुटबल टोलीको आगामी साफ महिला च्याम्पियनसिपमा सहभागिताको सम्भावना समेत बलियो भएको एन्फा पक्षले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update