नेपाल न्युज प्वाइन्ट डटकम
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं : प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोधका बीच उक्त नीति तथा कार्यक्रम पारित भएको हो । सभामुख डोलप्रसाद अर्यालले सदनको बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए ।

सत्तापक्षीय सांसदहरूको बहुमत समर्थनसँगै सभामुखले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै सदन अवरुद्ध पारेका थिए ।

प्रधानमन्त्री जवाफ दिन उपस्थित नभएको भन्दै नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

अर्कोतर्फ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले बेल घेराउ र उभिएर विरोध प्रदर्शन जारी राखेका थिए । कांग्रेसको अवरोध र अन्य दलको बहिष्कारका बीच सभामुख अर्यालले सदनको कारबाही अगाडि बढाउँदै बहुमतको आधारमा नीति तथा कार्यक्रम पारित गराएका हुन् ।

सरकारले प्रश्तुत गरेको यस नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षका प्राथमिकता र कार्ययोजनाहरू समेटिएका छन् । सदनबाट पारित भएसँगै अब सरकारलाई बजेट निर्माण र कार्यान्वयनको मार्ग प्रशस्त भएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update