काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । प्रधानमन्त्री तथा त्रिविका कुलपति वालेन्द्र शाह (बालेन)ले इन्जिनियरिङ अध्ययन संस्थानका डिन रहेका बज्राचार्यलाई उक्त जिम्मेवारी दिएका हुन् ।
विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीहरू अध्यादेशमार्फत पदमुक्त भएपछि त्रिवि नेतृत्वविहीन बनेको थियो । सोही अवस्थालाई मध्यनजर गर्दै विश्वविद्यालयको नियमित प्रशासनिक तथा शैक्षिक कामकारबाही सञ्चालनका लागि बज्राचार्यलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको जनाइएको छ ।
यसअघि अध्यादेश जारी हुनुअघि नै त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्यालले राजीनामा दिएका थिए । उनीसँगै शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पनि पदबाट राजीनामा दिएका थिए । त्यसपछि विश्वविद्यालयमा प्रमुख पदाधिकारीहरूको अभाव सिर्जना भएको थियो ।
यसैबीच, त्रिविको नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन भइसकेको छ । समितिले उपकुलपति पदका लागि आवेदनसमेत आह्वान गरिसकेको छ । इच्छुक उम्मेदवारलाई आवेदन दिन १० दिनको समयसीमा दिइएको बताइएको छ ।


