नेपाल न्युज प्वाइन्ट डटकम
सगरमाथा आरोहण मार्ग पूर्ण, वसन्त यामको आरोहण औपचारिक रूपमा खुला

काठमाडौँ : विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चुचुरोसम्मको मार्ग निर्माण कार्य सम्पन्न भएको छ। यससँगै यस वर्षको वसन्त यामको सगरमाथा आरोहण औपचारिक रूपमा खुला भएको छ ।

पर्यटन विभागका अनुसार सगरमाथा, ल्होत्से र नुप्से हिमालमा पर्ने खुम्बु आइसफल क्षेत्रको व्यवस्थापन सगरमाथा प्रदूषण नियन्त्रण समितिले गर्दै आएको छ भने चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पर्वतारोहण सञ्चालक संघ नेपाललाई दिइएको थियो ।

उक्त जिम्मेवारीअनुसार खटिएको टोलीले बिहान १० बजेर २५ मिनेटमा सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। यससँगै आरोहणका लागि मार्ग औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

आधार शिविरदेखि क्याम्प–२ सम्मको मार्ग निर्माण कार्य आइसफल डाक्टरहरूको टोलीले सम्पन्न गरेको थियो । उक्त टोलीमा आङ सार्की शेर्पा, दावा जङ्वु शेर्पा, टेन्डु शेर्पा, निग्मा तेन्जी शेर्पा, फुर्वा छेतेन शेर्पा, दावा छिरी शेर्पा, सोनाम गेल्जेन शेर्पा र मिग्मा गेल्जेन शेर्पा सहभागी थिए ।

त्यस्तै क्याम्प-२ देखि शिखरसम्म डोरी टाँग्ने कार्यमा मिग्मा दोर्ची शेर्पा, पासाङ टाशी शेर्पा, लोप्साङ भुटिया, मिङ नोर्बु शेर्पा, छोम्बा तेन्जी शेर्पा, गुरु भोटे, पाम दोर्जी शेर्पा, मिङ्मा टेम्बा शेर्पा, देन्डी शेर्पा र पासाङ नोर्बु शेर्पा संलग्न थिए ।

मार्ग खुला भएसँगै अब आरोहीहरू माथिल्ला शिविरतर्फ प्रस्थान गर्ने क्रम सुरु हुने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update