नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री नआएपछि कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । प्रधानमन्त्रीको उपस्थितिबिना बैठकको कुनै औचित्य नरहेको भन्दै कांग्रेसले सोमबारको बैठक बहिष्कार नै गरेको छ ।

गृह मन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्री शाहले सम्हालिरहेका कारण सुकुम्वासी बस्ती हटाउने कार्य, सुरक्षा प्रशासन तथा गृह प्रशासनसँग सम्बन्धित विषयमा प्रत्यक्ष जवाफ आवश्यक रहेको कांग्रेसको भनाइ छ । तर प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि कांग्रेस सांसदहरू बैठकमा सहभागी भएनन् ।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक निश्कल राई तथा सांसद अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित रहेका थिए ।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्री उपस्थित नभएसम्म समितिको बैठकमा सहभागी नहुने स्पष्ट पारे । उनका अनुसार समितिमा छलफलका लागि राखिएका विषयमा गृहमन्त्रीको हैसियतमा प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने अवस्था रहेको छ ।

उनले प्रधानमन्त्री नआउने अवस्थामा केवल औपचारिक उपस्थितिका लागि बैठकमा बस्नुको अर्थ नरहेको बताए ।

आङ्देम्बेले समिति सभापति हरि ढकाललाई प्रधानमन्त्री उपस्थित हुने सुनिश्चित भएपछि मात्रै बैठकको सूचना दिन आग्रह गरिएको पनि बताए । उनले प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन पटक–पटक आग्रह गरिए पनि त्यसको सुनुवाइ नभएको गुनासो गरे ।

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update