काठमाडौं : सरकारले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट गरिने उक्त सम्बोधनलाई स्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सोमबार अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए ।
नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यहरूको उपस्थिति आह्वान गर्नसक्ने व्यवस्था रहेको छ । सोही संवैधानिक प्रावधान अनुरूप सरकारले राष्ट्रपतिको सम्बोधनको विषयवस्तुलाई औपचारिक रूपमा स्वीकृत गरेको हो ।


