एजेन्सी : तमिलगा वेत्री कड़गम (टिभिके)का अध्यक्ष सि. जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । मुख्यमन्त्रीको पदभार सम्हाल्दै उनले राज्यका लागि तीनवटा महत्वपूर्ण निर्णयहरूमा हस्ताक्षर गरेका छन्, जसमा प्रत्येक घरलाई २०० युनिट नि:शुल्क बिजुली, लागूऔषध नियन्त्रणका लागि विशेष बल र महिला सुरक्षाका लागि विशेष टास्क फोर्स गठन गर्ने समावेश छ ।
चेन्नईको नेहरू स्टेडियममा आयोजित भव्य समारोहमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । विजयसँगै नौ अन्य मन्त्रीहरूले पनि शपथ लिएका छन् ।
विजयको मुख्यमन्त्री नियुक्तसँगै तमिलनाडुमा विगत ६ दशकदेखि चल्दै आएको दुई प्रमुख द्रविड दलहरू डिएमके र एआइएडिएमकेको आलोपालो सत्तामा आउने वर्चस्वको अन्त्य भएको छ । फेब्रुअरी २०२४ मा मात्रै गठन भएको उनको पार्टी टिभिकेले आफ्नो पहिलो चुनावमै ऐतिहासिक सफलता हासिल गर्दै १०८ सिट जित्न सफल भएको थियो । यद्यपि विजय दुई क्षेत्रबाट निर्वाचित भएकाले पार्टीको वास्तविक सिट संख्या १०७ हो ।
विजयले कांग्रेस र अन्य दलहरूको सहयोगमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् । २३४ सदस्यीय विधानसभामा उनलाई १२० विधायकको समर्थन प्राप्त छ । उनलाई भारतीय राष्ट्रिय कांग्रेसका ५ विधायकका साथै सिपिआई, सिपिआई (एम), विसिके र आइयुएमएलका विधायकहरूले समर्थन गरेका छन् । राज्यपालले विजयलाई आगामी मे १३ सम्ममा विधानसभामा विश्वासको मत प्राप्त गर्न निर्देशन दिएका छन् ।
नयाँ मन्त्रिमण्डलमा एक महिला र एक अनुसूचित जाति (एससी) समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । शपथ लिने मन्त्रीहरूमा 'बुसी' एन आनन्द, आधव अर्जुना, केजी अरुणराज र अनुभवी नेता केए सेंगोट्टैयन लगायत नौ जना रहेका छन् ।
तमिल सिनेमाका सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले सन् २०२४ मा औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका थिए । उनले आफ्नो पार्टीलाई धर्मनिरपेक्ष संगठनको रूपमा प्रस्तुत गर्दै पेरियार, कामराज र डा. भीमराव आंबेडकर जस्ता व्यक्तित्वहरूलाई आदर्श मानेका छन् । शपथ ग्रहण समारोहमा लोकसभाका विपक्षी दलका नेता राहुल गान्धीको पनि उपस्थिति रहेको थियो ।


