काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अवधिमा देशका धेरैजसो भू-भागमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर अधिकतम तथा न्यूनतम तापक्रम पनि औसतभन्दा उच्च रहने सम्भावना औँल्याएको छ ।
ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा विभागले मनसुन २०८३ को सम्भावित अवस्थाबारे जानकारी सार्वजनिक गरेको हो । कार्यक्रममा मौसमविद् सुदर्शन हुमागाईँले प्रस्तुत गरेको विवरणअनुसार यस वर्ष देशका अधिकांश क्षेत्रमा वर्षा औसतभन्दा कम हुने संकेत देखिएको छ, यद्यपि भौगोलिक क्षेत्रअनुसार अवस्था फरक रहनेछ ।
विभागको प्रक्षेपणअनुसार कर्णाली प्रदेशका दक्षिणी क्षेत्र, लुम्बिनी प्रदेशका अधिकांश भू-भाग, मधेश प्रदेशको पूर्वी भाग तथा कोशी प्रदेशको दक्षिणी क्षेत्रमा औसतभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ ।
त्यस्तै, कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने अनुमान गरिएको छ ।
यता, सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान, मधेश प्रदेशको पश्चिमी क्षेत्र तथा कोशी प्रदेशको मध्य भागमा औसतभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ ।
तापक्रमतर्फ पनि मनसुन अवधिभर देशभर अधिकतम र न्यूनतम दुवै तापक्रम औसतभन्दा बढी रहने सम्भावना रहेको मौसमविद् हुमागाईँले बताए। उनका अनुसार तापक्रम वृद्धि हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको छ ।
विभागले सार्वजनिक गरेको यो मौसमी प्रक्षेपण आगामी जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको अवधिलाई आधार मानेर तयार गरिएको हो ।


