काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारको आरोपमा नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र चिनियाँ निर्माण कम्पनीसहित उच्च पदस्थ कर्मचारीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बिहीबार विमानस्थल निर्माणमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै सोही रकम बराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच भएको खरिद सम्झौता अनुसार ठेकेदारले नै कर, महसुल र अन्य शुल्कहरू तिर्नुपर्ने स्पष्ट प्रावधान थियो । तर, तत्कालीन पदाधिकारी र कर्मचारीहरूको आपसी मिलेमतोमा उक्त प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिने गरी छुट्टै सम्झौता गरिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
यसो गर्दा ठेकेदार कम्पनीले सम्झौताको मूल्यभित्रै कर समावेश गरी भुक्तानी पनि लिने र अर्कोतर्फ राज्यलाई तिर्नुपर्ने कर पनि छुट पाएर 'दोहोरो लाभ' लिएको अख्तियारको ठहर छ । यसबाट नेपाल सरकारले ऋण स्वरूप प्राप्त गरेको सार्वजनिक सम्पत्तिको ठुलो परिमाणमा हिनामिना र हानि-नोक्सानी भएको पाइएको छ ।
अख्तियारले तत्कालीन अर्थमन्त्री कार्कीसहित तत्कालीन सचिवहरू शंकरप्रसाद अधिकारी र महेश्वर न्यौपाने, पूर्व सहसचिवहरू केवलप्रसाद भण्डारी, सुरेश आचार्य र डण्डुराज घिमिरे, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम र राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी, तत्कालीन उपसचिव युगराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी र इन्जिनियर योगेश अर्यालविरुद्ध मुद्दा दायर गरेको छ ।
साथै चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड, सोका अध्यक्ष वाङ बो र प्रोजेक्ट म्यानेजर याङ झिगाङविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


