नेपाल न्युज प्वाइन्ट डटकम
दोहोरो सुविधा लिनेको विवरण तत्काल उपलब्ध गराउन सरकारको निर्देशन

काठमाडौं : पूर्वविशिष्ट पदाधिकारीहरूले दोहोरो सुविधा लिइरहेको विषयमा सरकारले चासो देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयसँग त्यस्ता पदाधिकारीहरूको विस्तृत विवरण आजै उपलब्ध गराउन निर्देशन दिएको हो ।

प्रधानमन्त्री कार्यालयले हालै गरेको अध्ययनमा केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको सीमा नाघेर सवारी साधन प्रयोग गर्नुका साथै विभिन्न निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला परेको जनाएको छ । सोही आधारमा यथार्थ विवरण माग गरिएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिइन् ।

कार्यालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख तथा पूर्वराष्ट्रियसभा अध्यक्षहरूले उपभोग गरिरहेका सुविधा र सवारी साधनको पूर्ण विवरण आजै कार्यालय समयभित्र इमेलमार्फत पठाउन निर्देशन दिइएको छ ।

सरकारले सार्वजनिक स्रोतको दुरुपयोग रोक्न र सुविधा प्रणालीलाई पारदर्शी तथा व्यवस्थित बनाउन यस्तो कदम चालिएको जनाएको छ । साथै, दोहोरो सुविधा लिने प्रवृत्ति नियन्त्रण गर्न आवश्यक कदम अघि बढाइने संकेत पनि गरिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update